मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप

काठमाडौं । टेक्सासका केही डेमोक्र्याट सांसदहरूको समूहले टेस्लालाई अस्टिनमा गर्न हुन लागेको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु गर्ने योजना आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्न आग्रह गरेका छन् । सो समयमा नयाँ स्वचालित सवारीसाधन सम्बन्धी कानुन लागू हुने तयारी छ ।

अस्टिन क्षेत्रका सांसदहरूले बुधबार पत्र पठाएका थिए । उक्त पत्रमा केही समयका लागि रोक्नु सार्वजनिक सुरक्षाको दृष्टिले र कम्पनीको विश्वसनीयता कायम गर्न सबैका लागि हितकारी हुने बताएका छन् ।

यदि टेस्लाले यो महिनामै सेवा सञ्चालन अघि बढाउने निर्णय गर्यो भने सांसदहरूले नयाँ राज्य कानुनअनुसार टेस्लाले कसरी नियम पालना गर्नेछ भन्ने विस्तृत विवरण पेश गर्न माग गरेका छन् ।

गत वर्ष एलन मस्कले टेस्लाको भविष्यलाई पूर्णरूपमा स्वचालित सवारी प्रविधिमा केन्द्रित गर्ने घोषणा गरेका थिए । कम्पनीले पछिल्लो समय विद्युतीय सवारी बिक्री वृद्धिमा मात्र ध्यान नदिई स्वचालित प्रविधी विकासलाई प्राथमिकता दिएको छ । सांसदहरूको पत्रबारे टेस्लाले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

टेक्सास राज्यमा गभर्नर र दुबै सदनमा रिपब्लिकनको बहुमत रहेको हुँदा डेमोक्र्याट सांसदहरूको पत्रले कति प्रभाव पार्ला भन्ने विषयमा भने अन्योलता रहेको छ ।

मस्कले यसै वर्ष जनवरीमा घोषणा गरेका थिए कि कम्पनीले जुन महिनादेखि अस्टिनमा ुपैसा तिरेर स्वचालित सवारी सेवाु प्रदान गर्नेछ । त्यसपछि अस्टिनमा सेवा सुरु गर्ने टेस्लाको योजना लगानीकर्ता र विश्लेषकहरूको मुख्य चासोको विषय बनेको छ । धेरैले टेस्लाको सेयर मूल्यलाई भविष्यमा आउने रोबोट्याक्सी र मानवरूपी रोबोट परियोजनासँग जोडेर हेरिरहेका छन्, जुन अझै बजारमा आएको छैन ।

हालको टेक्सास कानुनअनुसार कुनै पनि स्वचालित सवारी कम्पनीले आफ्नो सवारीसाधन राज्यभरि सञ्चालन गर्न पाउँछन्, यदि ती सवारीहरूले आवश्यक दर्ता र बीमा शर्तहरू पूरा गरेका छन् भने । 

तर गत महिना टेक्सास विधानसभाबाट पारित भएको नयाँ कानुनले अबदेखि स्वचालित सवारी कम्पनीहरूले राज्यमा सेवा सञ्चालन गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था ल्याउनेछ ।

नयाँ कानुन लागू भएपछि कुनै चालकविहीन सवारीले जनतालाई जोखिममा पारिरहेको ठानेमा राज्य अधिकारीहरूले अनुमति खारेज गर्न सक्नेछन् । साथै आपतकालीन अवस्थाहरूमा प्रहरीले र उद्धारकर्मीहरूले यस्ता सवारीसाधनलाई कसरी नियन्त्रण गर्ने भन्ने जानकारी कम्पनीहरूले राज्यलाई दिनुपर्नेछ ।

टेसलाले अस्टिनमा रोबोट्याक्सी सेवा सुरु गर्ने विस्तृत योजना भने अहिलेसम्म सार्वजनिक गरेको छैन । मस्कले सुरुवातमा १० देखि २० वटा मोडल वाई सवारीमार्फत सेवा सुरु गर्ने र अस्टिनका सबैभन्दा सुरक्षित ठानिएका क्षेत्रहरूमा मात्र सञ्चालन गर्ने बताएका छन् । तर यात्रु को हुने, यात्रा शुल्क कस्तो हुने, सवारी कहाँ-कहाँ सञ्चालन हुने र टाढाबाट निगरानी तथा नियन्त्रण प्रणाली कति प्रभावकारी हुने भन्नेबारे कम्पनीले प्रष्ट पारेको छैन ।

सान्दर्भिक सामग्री :

कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित

चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै
 

Share News