काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि पुनः अपोइन्टमेन्ट शेड्युल गर्न सुरु गर्ने जनाएको छ ।
मन्त्रालयले यसका लागि भिसा आवेदन दिने विद्यार्थीका सामाजिक सञ्जाल (सोशल मिडिया) खाताहरू पनि जाँच गरिने स्पष्ट पारेको छ । यसका लागि सबै आवेदकहरूले आफ्ना सामाजिक सञ्जाल प्रोफाइलको प्राइभेट सेटिङ 'पब्लिक' राख्नुपर्ने निर्देशन दिइनेछ ।
विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी भिसा स्क्रिनिङमा उपलब्ध सबै जानकारीको प्रयोग गर्छौं ताकि यस्ता आवेदकहरूलाई चिनिहाल्न सकियोस् जसलाई अमेरिका प्रवेश दिनु उपयुक्त हुँदैन, विशेषगरी राष्ट्रिय सुरक्षामा खतरा बन्न सक्नेहरूलाई ।’
‘नयाँ निर्देशनअनुसार आवेदकहरूको अनलाइन गतिविधिसहित विस्तृत र कडाइका साथ जाँच गरिनेछ,’मन्त्रालयले थपेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूले चाँडै यी भिसा आवेदनहरूको शेड्युलिङ पुनः सुरु गर्नेछन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभर रहेका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट बन्द गर्न आदेश दिएका थिए ।
ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहिरो जाँच गर्ने योजना पनि ल्याएको थियो ।