दुर्लभ खनिज चुम्बक निर्यातमा चीनको कडा अंकुश : पाँच वर्षमा सबैभन्दा न्यून स्तर

काठमाडौं । चीनको दुर्लभ खनिज चुम्बकको विदेशी निर्यात मे महिनामा अप्रिलको तुलनामा आधा घटेर पाँच वर्षभन्दा बढीको न्यूनतम स्तरमा झरेको छ । जसको कारण निर्यात प्रतिबन्ध हो ।

बेइजिङले यस महिना आफ्नो अनुमोदन प्रक्रिया छिटो पार्ने जनाएको छ, जुन अमेरिकासँगको व्यापार तनाव कम गर्ने सहमतिको एक भागका रूपमा आएको छ । यद्यपि उद्योग स्रोतहरूका अनुसार हाल चिनियाँ भन्सार अधिकारीहरू दुर्लभ खनिज मालसामान प्रशोधन गर्नमा झनै सतर्क भएका छन् ।

स्रोतका अनुसार विशेष गरी दुर्लभ खनिज चुम्बकका हकमा अझ बढी समस्या देखिएको छ किनकि विभिन्न रासायनिक संरचना भएका चुम्बकहरूका लागि एउटै कोड मात्र छ । ती स्रोतहरूले मिडियामा बोल्न अधिकार नपाएकोले नाम गोप्य राखेका छन् ।

विश्वको सबैभन्दा ठूलो दुर्लभ खनिज चुम्बक उत्पादक चीनले विश्व आपूर्तिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीनले अप्रिलको सुरुमा सात प्रकारका मध्यमदेखि भारी दुर्लभ खनिज उत्पादन र केही चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसले विश्वभरको अटो, एरोस्पेस, सेमिकन्डक्टर र सैन्य उपकरण क्षेत्रका आपूर्ति श्रृंखलालाई प्रभावित पारेको छ ।

गत महिना चीनले १ हजार २३८ मेट्रिक टन दुर्लभ खनिज स्थायी चुम्बकहरू विदेश पठाएको भन्सार प्रशासनको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । यो अप्रिलको तुलनामा ५२.९ प्रतिशतले घटेको हो र फेब्रुअरी २०२० पछि एक महिनामा सबैभन्दा कम हो। अप्रिलको निर्यात पनि मार्चको तुलनामा आधा घटेको थियो ।

वार्षिक आधारमा हेर्दा मे महिनाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ७४ प्रतिशतले घटेको छ ।

स्रोतहरूले यसअघि पनि खुलासा गरेका छन् कि भन्सारले घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही कम क्षमताका दुर्लभ खनिज चुम्बकहरूको निर्यात रोकिदिएको छ किनकि बेइजिङको नयाँ प्रतिबन्ध कसरी लागू गर्ने भन्नेमा अन्योलता छ ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ कि ‘कसै-कसैको’ दुर्लभ खनिज निर्यात अनुमति आवेदन स्वीकृत गरिएको छ तर थप विवरण सार्वजनिक गरिएको छैन ।

चीनका दुर्लभ खनिज चुम्बक उत्पादकहरू जेएल म्याग रेर अर्थ र इन्नुभो टेक्नोलोजीले हालै केही ग्राहकहरूका लागि केही निर्यात अनुमतिपत्र प्राप्त भएको बताएका छन् ।

जनवरीदेखि मेसम्म दुर्लभ खनिज चुम्बकहरूको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले घटेर १९ हजार १३२ टन पुगेको छ, जुन सन् २०२१ पछि सो अवधिमा सबैभन्दा कम हो ।

चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी

विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
 

 

Share News