वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै, आयात साढे १६ अर्ब पुग्दा निर्यात ७७.७७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनासम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा सो मुल्य बराबरको वस्तु आयात भएको हो । 

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

भन्सार विभागका अनुसार यो अवधिसम्म कुल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । 

विभागका अनुसार यो अवधिसम्म कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा रहेको थियो । 

गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा अहिले ६.६४ प्रतिशत छ । यस्तो अनुपात ३६.३५ प्रतिशतले घटेको हो । 

कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ । 

भन्सार विभागका अनुसार यो अवधिमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ ।

कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।
 

Share News