६० किलो सुन प्रकरणमा फरार अमला रोका पक्राउ

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी अमला रोका पक्राउ परेकी छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

रोल्पाको थवाङ गाउँपालिका- २ की रोका टोखा नगरपालिका( ३ मा बस्दै आएकी थिइन् । 

आवश्यक कानुनी कारवाहीको लागि उनलाई काठमाडौं जिल्ला अदालत लगिने सीआईबीले जनाएको छ ।

रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती समेत हुन् । 

गत वर्ष साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थ्ति भन्सार कार्यालय परिसरबाट ६० किलो सुन बरामद गरेको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । 

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

Share News