कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । 

शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरू पनि नआउने र मन्त्रालय थप्दै जाने होभने समयपनि थप्न आग्रह गरेका हुन् । संघीय निजामति ऐन संसदमा पेश भएरपनि नआउँदा दुःख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका लागि कार्यदल बनाइएको भएपनि त्यो अहिले नदेखिएको स्पष्ट पारे ।

सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी गरे । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरेपनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘खर्च कटौतीसँग सम्बन्धित १० वटा मन्त्रालयको बजेटसँग सम्बन्धित विषयहरुमा आफ्ना धारणा राख्दा केही कुरामा सभामुखज्यूलाई विशेष ध्यानाकर्षण गर्न चाहन्छु । तपाईले १० वटा मन्त्रालय आजै राख्नुभयो, अनि समयपनि अत्याधिक कम भएको कारणले सबै मन्त्रालयको टिप्पणी गर्ने र खर्च कटौती गर्ने कुरामा कहिँ न कहीँ समस्या हुन्छ ।’

उनले आन्दोलनरत शिक्षकहरूसँग जुन तरिकाले वार्ता र सम्वाद भएको थियो सोही अनुरूप कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे । 

Share News