विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए ।

नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताए । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताए । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गरे । 

सभापति देउवाले भने, ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’

सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताए । ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गरे । 
 

Share News