काठमाडौं । इजरायलका राष्ट्रपति इसहाक हर्जोगले इरानका आणविक भट्टीमाथि अमेरिकी आक्रमणलाई ‘ऐतिहासिक र साहसी’ निर्णय भएको बताएका छन् ।
बीबीसी संवाददाता लौरा कुन्सबर्गले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग पछिल्लो परिस्थितिबारे कुराकानी गरेकी थिइन् ।
उनले इरानको आणविक क्षमता पूर्ण रूपमा समाप्त भइसकेको छ ? भन्ने प्रश्न गर्दा राष्ट्रपतिले आफूलाई यसबारे सम्पूर्ण जानकारी नभएको बताए ।
उनले भने, ‘तर मलाई स्पष्ट लाग्छ कि इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुगेको छ ।’
राष्ट्रपतिलाई अर्को प्रश्न पनि सोधिएको थियो- के इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै इरानमाथि हमला गर्न अनुरोध गरेको थियो ?
उत्तरमा उनले भने, ‘हामीले यो निर्णय अमेरिकामाथि छोड्ने निर्णय गरेका थियौं ।
कुन्सबर्गले पुनः सोधिन्- के अब इजरायलले इरानमाथि हमला गर्न बन्द गर्नेछ ?
यस प्रश्नमा राष्ट्रपति इसहाक हर्जोगले सीधा उत्तर नदिई यति मात्रै भने, ‘इरानले इजरायली क्षेत्रमा मिसाइल प्रहार गरिरहेको छ र हामीलाई ती मिसाइलबाट जोगिन जे गर्नुपर्ने हो त्यो गर्नै पर्छ ।’
उनले थपे, ‘यस समस्याबाट जोगिने सही उपाय भनेको अन्तर्राष्ट्रिय स्तरमा यसको समाधान गर्नु हो र यो सुनिश्चित गर्नु हो कि यसबाट निस्किने एउटा स्पष्ट रणनीति बनोस् ।’
इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै