विद्युतीय शवदाह मेसिन खरिदमा पनि भ्रष्टाचार, पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

साथै दुई कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ । 

आयोगले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाएको छ ।

सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध मुद्दा दायर भएको हो ।

यसैगरी, उपकरण आपूर्तिकर्ता म्याप इन्ट्रप्रेनर प्रालिका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि संयुक्त रूपमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । 

यस्तै, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध कायम गरेको बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी छ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरेकाले आयोगले मुद्दा दायर गरेको हो ।

Share News