मेची भन्सारबाट १४.४३ अर्ब राजस्व सङ्कलन, २३ अर्ब २८ करोडको वस्तु निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ सङ्कलन भएको छ । 

यसैगरी तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार रुपैयाँ, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार रुपैयाँ, कफीबाट २१ करोड ५४ लाख ७० हजार रुपैयाँ, दलहनबाट २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

मेची भन्सारबाट चालु आवको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यसैगरी सोही अवधिमा ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Share News