काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराएकी हुन् ।
सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको थियो । उनले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन् ।
सरकारले युद्ध शुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ ।
उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताइन् । हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरिएको समेत जानकारी दिइन् ।
उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्धन्द्ध र यसका प्रभावहरुलाई अत्यन्त गम्भिरता साथ लिँदै ति क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको आएको छ । हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ । अबको एकदुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ ।’
उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी वीपिन जोशीको रिहाईको लागि समेत सरकार प्रयासरत रहेको जानकारी दिइन् ।