पेट्रोलियम पदार्थ आयातमा  गिरावट, राजस्व ५.७० प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब ४ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा १ अर्ब ६ करोड ४३ लाख रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ ।
 
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ मूल्य पर्ने ९३ हजार ८२४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ६ अर्ब २६ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ । 

त्यसैगरी, सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख रुपैयाँ मूल्य पर्ने ६ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने २ हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।

Share News