आर्क र सिरुवा कन्स्ट्रक्सनका ८ जनाले तिरेनन् सरकारको ३ करोड ६५ लाख रुपैयाँ

काठमाडौं । सरकारले विभिन्न ८ जनालाई सरकारी रकम तिर्न बोलाएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखा नियन्त्रक कार्यालयले आर्क कन्स्ट्रक्सन र सिरुवा कन्स्ट्रक्सन कम्पनीका ८ जनालाई सरकारी ३ करोड ६५ लाख १४ हजार रुपैयाँ बक्यौता तिर्न आउन ३५ दिनको समय दिएको हो । 

कार्यालयका अनुसार कैलाली-५ धनगढीकी राधा कुमारी मल्लले आर्क कन्स्ट्रक्सनको नाममा ६ लाख रुपैयाँ सरकारी बक्यौता तिर्न बाँकी रहेको छ । यस्तै, कटारी-८ उदयपुरका ऋषिराम ढुङ्गाना, कागेश्वरी मनोहरा-८ काठमाडौंका अनन्त सिंखडा, जोरपाटी-७ काठमाडौंका प्रशुन घिमिरे, लिखु तामाकोशी-२ रामेछापका दिनेश पौडेल, मुलपानी-८ काठमाडौंका सुरेन्द्र प्रसाद फुयाल, फेदिखोला-१ स्याङ्जाका हरि प्रसाद सुवेदी र पोखरा-२५ कास्कीका हरिश्चन्द्र पौडेलले सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिको नाममा ३ करोड ५९ दाख १४ हजार रुपैयाँ बक्यौता रहेको छ । 

उक्त रकम तिर्न बुझाउन आउन घर ठेगानामा पत्राचार गर्दा फेला नपरेको एवं तिर्न बुझाउन नआएको कार्यालयले जनाएको छ । सरकारी बाँकी बक्यौता रकम र सो मा नियमानुसार लाग्ने ब्याज समेत बुझाई आफ्नो नामको सरकारी बाँकी रकमको लगत कट्टा गर्न महालेखा नियन्त्रक कार्यालयले अनुरोध गरेको छ ।

यदि ३५ दिनभित्र नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ बमोजिम अघि बढ्ने जनाएको छ । 

Share News