काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मध्यान्ह तीन बजे बस्ने भएको छ ।
आगामी भदौ २० देखि गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिने विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए ।
आजको बैठकका निर्णयसँगै एमाले अर्ली महाधिवेशनतर्फ अग्रसर भएको उनको ठहर छ ।
एमालेको विधानअनुसार विधान महाधिवेशन गरेको ६ महिनाभित्रै निर्वाचन महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ । यसरी हेर्दा पार्टी महाधिवेशन अब माघभित्रै गर्नु पर्दछ ।
ती सचिवालय सदस्यका अनुसार अध्यक्ष केपी शर्मा ओली पुषमा एघारौं महाधिवेशन गर्ने मनस्थितिमा छन् । एमालेले दशौं महाधिवेशन २०७९ मंसिरमा गरेको थियो । विधानतः एमालेको महाधिवेशन २०८४ को मङसिरमा हुनुपर्ने हो ।
तर प्रधानमन्त्रीसमेत रहेका ओली २०८२ को पुषमै महाधिवेशन गर्ने मुडमा रहेको ती सचिवालय सदस्यले बताए ।