काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका अहिले पनि मन्दीबाट खतरामुक्त छैन । देशका प्रमुख आर्थिक सूचकांकहरूले अझै पनि मन्दीको संकेत दिइरहेका छन् ।
लिडिङ इकोनोमिक इन्डेक्स (एलईआई) मा मे महिनामा लगातार छैटौं महिनासम्म गिरावट आएको छ । पछिल्ला ३९ महिनामध्ये ३७ पटक यसमा गिरावट आएको हो, जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो गिरावटहरूमध्ये एक हो ।
पछिल्ला ६ महिनामा यसमा वार्षिक ५ प्रतिशतको दरले गिरावट आएको छ, जसले देखाउँछ कि अमेरिकामा मन्दीको खतरा अझै कायम छ ।
एलईआई आफ्नो उच्चतम बिन्दुबाट १६ प्रतिशतले घटिसकेको छ र हाल यो नौ वर्षको न्यूनतम स्तरमा पुगेको छ । सन् १९६० पछिको इतिहास हेर्दा हरेक पटक मन्दी सुरु हुनु अघि एलआ मा लामो समयसम्म गिरावट आएको देखिन्छ । त्यसैले अब अमेरिकी अर्थतन्त्र मन्दीतर्फ जाँदैछ भन्ने आशंका बलियो हुँदै गएको छ ।
यदि अमेरिका मन्दीमा फस्यो भने त्यसको असर सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रूपमा भने लगातार दुई त्रैमासिक अवधिमा जीडीपी घटेमा त्यसलाई मन्दी भनिन्छ ।
यहीबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले निकट भविष्यमै ब्याजदरमा कटौती हुने सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी अहिले नीति परिवर्तनको चरणमा छौं र यसको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने भन्न अझै गाह्रो छ । हामी अहिले प्रतिक्षामा छौं ।’
ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा केही असर गर्नेछ, तर त्यो कति गम्भीर असर पार्छ भन्ने हेर्न बाँकी नै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन दबाब दिइरहेका छन् र फेडका केही अधिकारीहरूले पनि उनको मागलाई समर्थन गरेका छन् ।
जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार
चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन