नेपाल नागरिकता विधेयक असार १४ गतेको पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई अनावश्यक रूपमा अड्काइराख्न नहुनेमा जोड दिँदै, सरकार सबै विषयमा छलफल गर्न तयार रहेको बताएका हुन् ।

गृहमन्त्री लेखकले समितिले छोटो समयमा विधेयकमाथि प्रभावकारी छलफल गरी टुंगोमा पुर्याएको जानकारी दिँदै असार १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे । उनले भने, 'छिटो छलफल गरेर यसलाई टुंग्याऔँ । सरकार कन्टेन्टमा छलफल गर्न तयार छ। नागरिकताको विषयलाई अब ढिला नगरी टुंग्याउनुपर्छ ।'

बैठकमा नेपाल प्रहरी सम्बन्धी कानून संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलसमेत प्रारम्भ भएको थियो । गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकलाई पनि सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै, संभव भए असार महिनाभित्रै समितिबाट पारित गरी प्रतिनिधि सभामा पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।

Share News