काठमाडौं । भारतले नेपालीसँग रहेको ४५ सय भारतीय रुपैंयाँ साटिदिने प्रस्ताव अघि सारेको छ । नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाल आएको भारतीय रिजर्भ बैंक(आरबिआई)को टोलीले नेपाल राष्ट्र बैंकलाई सो प्रस्ताव राखेको हो ।
आरबिआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्वको टोलीले भारु सटहीबारे नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको छ । नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकले बैधानिक ढंगले बोक्न पाउने २५ हजार भारु नै साट्नुपर्ने अडान राखेको केन्द्रिय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी नेतृत्वमा विभागिय प्रमुख ढुंगानासहितको नेपाली टोलीले भारत पुगेर भारु सटहीको पहल गरेको थियो। पन्तकै नेतृत्वमा आरबिआइको टोलीले नेपाल आएर भारु सटहीबारे प्रारम्भिक छलफल गरेर भारत सरकारलाई प्रतिवेदन समेत बुझाएको थियो ।
नेपालको बैंकिङ प्रणालीमा ३ करोड ७४ लाख भारु मात्रै रहेको छ ।