काठमाडौं । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवल कार्यालयले नवलपरासीको नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले आज विज्ञप्ति जारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको जनाएको छ । नवलपरासी रामग्राम नगरपालिका-८ स्थित नवज्योति ट्रेडर्सले करमा दर्ता नगरी ५० लाख रुपैयाँभन्दा बढीको करयोग्य वस्तु बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानका क्रममा, भारतबाट चामलका नाममा अवैध रूपमा भारतीय चिनी भन्सार छली गरी नेपाल भित्र्याइएको पाइएको अनुसन्धान कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
नवज्योति ट्रेडर्सका प्रोप्राइटर यादवमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गर्दै सोही ऐनको दफा २३(१) बमोजिम सो रकम असुल उपर गरी शत्प्रतिशत जरिवाना तथा हदसम्मको कैद सजाय माग गरिएको छ ।
यसैगरी, उक्त कारोबारमा संलग्न आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मामाथि ११ लाख ७१ हजार रुपैयाँको भन्सार चोरी बिगो कायम गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शर्मासहित हिक्मतप्रसाद आचार्य र विनोद थापामाथि समेत राजस्व चुहावटमा संलग्न रहेको भन्दै सम्बन्धित कानुनी दफाबमोजिम मुद्दा चलाइएको विभागले जनाएको छ ।
‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (सं.स) को दफा ३ विपरीत र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकाले निज प्रतिवादी सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी(पैठारीतर्फको जम्मा बिगो ३ करोड ४७ लाख ६२ हजार ७५३ रुपैयाँ कायम गरी राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३ (१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपर गरी सतप्रतिशत रकम जरिवाना हुन तथा सोही ऐनको दफा २३ (१) (ख)बमोजिम हदैसम्मको कैद सजाय हुन माग गरिएको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले पछिल्लो समय कर छल्ने, अवैध कारोबार गर्ने र सरकारी राजस्वमा गम्भीर क्षति पुर्याउने प्रवृत्ति नियन्त्रण गर्न सक्रिय कदम चालेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए ।