कामना सेवा विकास बैंकको मोबाइल एपबाट अब मुद्धती कर्जा पनि लिन सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरूलाई लक्षित गर्दै मोबाइल एपमार्फत मुद्धती कर्जा सेवा सुरु गरेको छ । यस सुविधाबाट ग्राहकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘KSiMobile’ प्रयोग गरी आफ्नै मुद्धती खाताको आधारमा तुरुन्तै कर्जा लिन सक्नेछन्, जुन रकम सीधा आफ्नै खातामा जम्मा हुनेछ ।

बैंकका अनुसार यसअघि मुद्धती खातामा आधारित कर्जा लिन ग्राहकलाई शाखा कार्यालय पुग्नुपर्ने र विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो । तर, नयाँ सुविधा सञ्चालनसँगै शाखा कार्यालयमा नगईकनै मोबाइल एपमार्फत सहज र छिटो कर्जा लिन सकिने भएको छ । बैंकले यो सेवाबाट ग्राहकको समयको बचत, डिजिटल अनुभवको सन्तुष्टि र सहज सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ ।

डिजिटल बैंकिङ सेवामा क्रमिक विस्तार गर्दै आएको कामना सेवा विकास बैंकले यसअघि नै मोबाइल एपमार्फत मुद्धती खाता खोल्ने तथा अनलाइन खाता खोल्ने सुविधा सुरु गरिसकेको छ । शाखा कार्यालयको निर्भरता घटाउँदै पूर्णरूपमा प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यका साथ बैंकले डिजिटल नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको छ ।

Share News