काठमाडौं । कर्णाली प्रदेश सरकारले असार १५ गते 'राष्ट्रिय धान दिवस'को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार जारी सूचनामार्फत प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुम्लाबाहेक अन्य ९ जिल्लामा सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने जानकारी दिएको हो ।
शाखा अधिकृत राजेश चौधरीका अनुसार मन्त्रिपरिषद्को २०८१ चैत १७ गतेको निर्णयअनुसार यो बिदा दिइएको हो । सूचनामा भनिएको छ, 'जुम्ला जिल्लाबाहेकका जिल्लाहरूमा मात्र सार्वजनिक बिदा लागू हुनेछ ।'
जुम्लामा धान रोपाइँ चैत महिनामै सम्पन्न हुने परम्परा रहेकाले प्रदेश सरकारले प्रत्येक वर्ष चैत १२ गते जुम्लामा छुट्टै बिदा दिँदै आएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ गते धान दिवसको अवसरमा विशेष औपचारिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।