सेनाको रेकर्ड ब्रेक काम : ४५ दिनमै पुल निर्माण सम्पन्न, सडक सञ्जालमा जोडिँदै सिमकोट

काठमाडौं । विकास निर्माण कार्यमा नेपाली सेनाले ऐतिहासिक रेकर्ड ब्रेक गर्ने काम गरेको छ । कर्णाली करिडोर तथा राष्ट्रिय सडक सञ्जालसँग हुम्लाको सदरमुकाम सिमकोटलाई जोड्ने सडकअन्तर्गत खार्पु खोलामा नेपाली सेनाले ४५ दिनमै पुल निर्माण सम्पन्न गरेको हो ।

गत जेठ १ गतेबाट निर्माण सुरु गरिएको खार्पु-सिमकोट जोड्ने बेलिब्रिज नेपाली सेनाले असार ११ गते सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता, सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 

उनका अनुसार उक्त स्थानमा सेनाको १४ बाहिनी अन्तर्गतको निर्माण टोलीले काम गरेको थियो ।

प्रवक्ता बस्नेतका अनुसार पुलको लम्बाइ ५२ मिटर र चौडाइ ७ मिटर रहेको छ । बेलिब्रिज मोडेलमा निर्माण गरिएको यस पुलमार्फत अब सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, जसले हुम्लाका नागरिकमा खुशी ल्याएको छ ।

उक्त पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट असार ११ गते नै हुने भनिएको थियो, तर मौसम प्रतिकूलताका कारण सम्भव नभएको प्रवक्ता बस्नेतले बताए ।

प्रवक्ता सहायक रथी बस्नेतका अनुसार मुगु-हुम्ला लिंक रोड अन्तर्गतको ६७ किलोमिटर सडक यातायात सञ्चालन योग्य भइसकेको  छ। उक्त सडकमा दशैंदेखि नियमित सवारीसाधन सञ्चालन हुने तयारी गरिएको छ ।

Share News