दुम्कीबास पुल भाँचिदा सयौं ट्रक सडकमा, सरकार मौन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको पुन अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । 

तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व-पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदासम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो । 

भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै छन् । 

असार ८ गते भैरहवाबाट पूर्व-पश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उनी ४ देखि सडकमै दिन–रात बिताउन बाध्य छन् ।  

दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले रोकेपछि उनले सडकमै समय बिताइरहेका हुन् । 
उनले भने, ‘हामी यो ठाउँमा आएको ४ दिन भयो । वीरगञ्जबाट एक गते लोड गरेर भैरहवा हुँदै यो ठाउँमा आएर बसेको ४ दिन भयो । ४ दिन दुम्कीबास पारी नै खडा भएर बसियो । आज १० दिन भयो । १० दिनमा कति दुःख कति, सुख, कति गर्मी भोग्या होला । प्रशासनलाई भन्यौं, प्रशासनले सुनेन । आज ४ दिन भइसक्यो घाम लागेर बसेको । प्रशासनले चाह्यो भने सबै पुल बनाएर आवतजावत गर्न सकिन्थ्यो । प्रशासनले गाउँलाई भनेको भए सबै गाडी पार भइसक्थ्यो ।’

भैरहवाबाट काठमाडौं हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । 
ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश व्यक्त गरे । 
उनले चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत बताए ।

ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुबोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् ।

उनीहरूजस्तै सयौं चालकहरू अहिले सडकमै दिनरात कटाइरहेका छन् । सयौं ट्रकहरूलाई सडकमै राख्दा उनीहरूले सास्ती खेप्नुपरेको हो । कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौं जान समेत बाध्य भएका छन् । 

पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

Share News