काठमाडौं । हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु लिखुपिके गाउँपालिका-२, साविक गोली गा।वि।स वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं-८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं-२ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।