काठमाडौं । लक्ष्मी सनराइज बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग रणनीतिक सल्लाहकार साझेदारीमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय शाह र आईएफसी दक्षिण एसियाका फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप अपस्ट्रीम एण्ड एडभाइजरी का क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यलाई बैंकको दीर्घकालीन संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापन र दिगो वित्ततर्फको महत्त्वपूर्ण फड्कोको रूपमा हेरिएको छ ।
बैंकले सार्वजनिक गरेको जानकारीअनुसार यो सहकार्य दुई मुख्य क्षेत्रहरूमा केन्द्रित हुनेछ । पहिलो- सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसँग सम्बन्धित जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ पार्ने र दोस्रो- जलवायु वित्त तथा नवप्रवर्तनात्मक आपूर्ति शृंखला समाधान सहितको दिगो तथा आपूर्ति शृंखला वित्तलाई प्रवर्द्धन गर्ने ।
बैंकले यो साझेदारीले दिगोपनलाई संस्थागत गर्दै जोखिमप्रति उत्तरदायी संस्कृति विकास गर्न र दीर्घकालीन लाभ सिर्जना गर्न सहयोग पुर्याउने विश्वास लिएको छ ।
लक्ष्मी सनराइज बैंक नेपालमा दिगो आर्थिक वृद्धि, हरित वित्त र वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकहरूमध्ये एक हो ।
हाल बैंकका २५४ शाखा, ३२९ एटीएम र सशक्त डिजिटल सेवामार्फत देशभर लाखौं ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
यस रणनीतिक साझेदारीसँगै बैंकले वित्तीय समावेशिता, नवीनता र दिगो विकासका सिद्धान्तहरूलाई थप मजबुत बनाउँदै अघि बढ्ने विश्वास लिएको छ ।