काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड सेवामा गई, कुनै पनि स्थानबाट सुरक्षित र सजिलै भुक्तानी गर्न सक्नेछन् । यसमार्फत फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानीका साथै अनलाइन किनमेलका भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
भौतिक क्रेडिट कार्डजस्तै ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा पनि रहनेछ । यसले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य गर्दै डिजिटल सुविधालाई अझ सहज बनाउने बैंकको विश्वास छ ।
सेवाको सुरुआतसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर समेत ल्याएको छ, जसले सेवा झनै आकर्षक बनाउने विश्वास बैंकले लिएको छ।
डिजिटल नवप्रवर्धनका क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंकले यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको जनाएको छ । साथै, आगामी दिनमा आफ्ना डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ परिमार्जित र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।