काठमाडौं । डिजिटल भुक्तानी सञ्जाल फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।
यससँगै महालक्ष्मी विकास आफ्ना ग्राहकहरूलाई फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्ने पहिलो विकास बैंक बन्न सफल भएको छ ।
फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल छ र महालक्ष्मी बैंकको मोबाइल बैंकिङ एप महालक्ष्मी स्मार्ट साथीमार्फत सजिलै पहुँच गर्न सकिन्छ ।
यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्युआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् । यो कार्डले परम्परागत क्रेडिट कार्डका फाइदाहरू-जस्तै ४५ दिनको ब्याजरहित अवधि, लचिलो किस्ताबन्दी सुविधा, र क्युआरमार्फत सुरक्षित भुक्तानी प्रदान गर्दछ ।
कार्ड सार्वजनिक अवसरमा, महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ५० प्रतिशतसम्मको क्यासब्याक, अधिकतम ५०० रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।
यस सुरुआतसँगै फोनेपे र महालक्ष्मी विकास बैंकले नेपालको क्रेडिट पहुँच र प्रयोगलाई नयाँ दिशातर्फ लैजाने प्रयास गरेका छन् ।
फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोनेपेले पीसीआई डिएसएस प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो ।
फोनेपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ ।