जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त

काठमाडौं । विश्व बैंकले जोहानेस जुटलाई दक्षिण एसिया क्षेत्रका नयाँ उपाध्यक्षका रूपमा नियुक्त गरेको छ । हालका उपाध्यक्ष मार्टिन रेजरको स्थानमा नियुक्त भएका जुटले २०२५ जुलाई १ देखि औपचारिक जिम्मेवारी सम्हाल्नेछन् ।

दक्षिण एसिया क्षेत्रका उपाध्यक्षका रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नुका साथै ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग र वित्तीय स्रोतहरूको सुपरिवेक्षण गर्नेछन् ।

उनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमा रोजगारी सिर्जना, जलवायु र विपद् सहनशीलता, मानव पूँजी विकास र निजी लगानी परिचालनजस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ ।

डच नागरिक जुट १९९९ देखि विश्व बैंकसँग आवद्ध छन् र यसबीच उनले ब्राजिलका लागि देश निर्देशक, रणनीति र परिणाम सम्बन्धी निर्देशक, तथा बंगलादेश, भुटान, नेपाल, टर्किये, कोमोरस, एरित्रिया, केन्या, रवाण्डा, सेशेल्स र सोमालियाका लागि देश निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेका छन् । 

'दक्षिण एसियामा १० वर्षअघि काम गरेको समय यता निकै विकास भएको देखेर म खुशी छु,' जुटले भने, 'फेरि यस क्षेत्रका जनताको आत्मीयता र सांस्कृतिक विविधतालाई नजिकबाट अनुभव गर्न पाउँदा उत्साहित छु ।'

जुटले टोरन्टो विश्वविद्यालयबाट दर्शनमा बीए र एमए, हार्वर्ड विश्वविद्यालयबाट कानूनको डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनमा विद्यावारिधि गरेका छन् । जुट भारतको नयाँ दिल्लीमा आधारित भएर दक्षिण एसिया क्षेत्रको लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा काम गर्ने विश्व बैंकले जनाएको छ ।

उनको कार्यक्षेत्र भारतको नयाँ दिल्लीमा रहनेछ, जुन दक्षिण एशियाका लागि विश्व बैंकको नयाँ क्षेत्रीय केन्द्रका रूपमा स्थापना गरिएको छ। 

Share News