काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक खरिद गर्न तयार भएका धेरै धनी व्यक्तिहरूको एक समूह रहेको र उनीहरूको परिचय करिब दुई सातापछि खुलाउने बताएका छन् ।
आइतबार प्रशारित फक्सन्यूजको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
ट्रम्पले उक्त डिल अघि बढ्न बेइजिङको स्वीकृति आवश्यक पर्न सक्ने पनि बताए । तर उनी स्वीकृति हुने पनि विश्वास गर्छन् । ‘मलाई लाग्छ राष्ट्रपति सी (सी जिनपिङ) ले सम्भवतः यो गर्छन् ।’
राष्ट्रपति ट्रम्पले यी टिप्पणीहरू फक्स न्यूजको ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ कार्यक्रममा आफ्नो ‘पारस्परिक’ ट्यारिफहरू फेरि रोक्ने सम्भावनाबारे छलफल गर्दा अनौपचारिक रूपमा गरेका हुन् ।
सन् २०२४ मा पारित एक कानुनले चिनियाँ स्वामित्वको कम्पनी बाइटडान्सले टिकटकबाट फर्छ्याैट नगरेसम्म अमेरिका भित्र यसको प्रयोग प्रतिबन्ध लगाउने व्यवस्था गरेपछि टिकटकको भविष्य अमेरिका भित्र अनिश्चित बनेको हो ।
यो कानुन चिनियाँ सरकारले सामग्रीमा हस्तक्षेप गर्न सक्ने र अमेरिकी प्रयोगकर्ताहरूको संवेदनशील डाटामा पहुँच पुग्नसक्ने डरका कारण ल्याइएको थियो ।
यसै महिनाको सुरुमा ट्रम्पले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबारबाट फर्छ्याैट गर्न थप समय दिएका छन् । नयाँ म्याद सेप्टेम्बर १७ सम्म कायम रहनेछ ।
सर्वोच्च अदालतले टिकटकसम्बन्धी कानुनलाई मान्यता दिएको केही दिनपछि ट्रम्पले दोस्रो राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।
अमेरिकनहरूलाई विदेशी शत्रु-नियन्त्रित एपहरूबाट संरक्षण गर्ने ऐन (पीएएफएसीए) अन्तर्गत यो नियम जनवरी १९ देखि लागू हुने तय गरिएको थियो । त्यसपछि एप स्टोर सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटकलाई समर्थन गरेबापत दण्डित गरिनेछ ।
टिकटक प्रारम्भिक म्यादअघि नै अमेरिकी बजारबाट हटाइएको थियो, तर ट्रम्पले म्याद थपको आश्वासन दिएपछि पुनस् सक्रिय भएको हो ।
ट्रम्पले पछिल्लो राष्ट्रपति चुनावमा युवा मतदाताहरूको समर्थन बढाउन टिकटकले मद्दत गरेको भन्दै यो एपलाई नयाँ स्वामित्वमा भए पनि जारी रहोस् भन्ने चाहना व्यक्त गर्दै आएका छन् ।
टिकटक खरिदमा रुचि देखाउने सम्भावित खरिदकर्ताहरूमा ट्रम्प निकट व्यक्ति ओरेकलका लेरी एलिसनका साथै एपलभिन र पप्र्लेक्सिटी एआई जस्ता कम्पनीहरू छन् ।
यद्यपि बाइटडान्स टिकटक बिक्री गर्न इच्छुक छ कि छैन भन्ने अझै स्पष्ट छैन । सम्भावित फर्छ्याैटका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने प्रष्ट छ ।
अप्रिल महिनामा टिकटकको अमेरिकी कारोबार अलग्याउने र बाइटडान्सलाई केही अल्पसंख्यक स्वामित्व कायम राख्न दिने एक प्रस्तावमा छलफल भैरहेको थियो । तर सो प्रस्ताव ट्रम्पले चीनमाथि नयाँ ट्यारिफ घोषणा गरेपछि अवरुद्ध भएको थियो ।
यसअघि ट्रम्पले अमेरिकी पक्षले टिकटक किन्ने र त्यसपछि ५० प्रतिशत स्वामित्व अमेरिकी सरकारलाई दिने एउटा संयुक्त उपक्रमको प्रस्ताव पनि अघि सारेका थिए ।