बीआईएसको ९५औं वार्षिक बैठकमा सहभागी भए गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा सम्पन्न बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । 

जुन २७ देखि २९ सम्म सञ्चालन भएको उक्त बैठकमा बीआईएस सदस्य राष्ट्रहरूका गभर्नरहरू तथा उच्च अधिकारीहरूको व्यापक सहभागिता रहेको थियो । 

सन् १९३० मा स्थापना भएको बीआईएस विश्वका ६३ केन्द्रीय बैंकहरू आबद्ध अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले वैश्विक मौद्रिक र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

बैठकको क्रममा गभर्नर डा. पौडेलले ‘सीपीएमआईस उदाउँदा बजार र विकासोन्मुख अर्थतन्त्रहरू- खाडल पुर्याउने पहल: वित्तीय समावेशीकरण, क्षेत्रीय एकीकरण र सीमापार भुक्तानी’ र ‘बीआईएस इनोभेसन हब सेमिनार: कृत्रिम बाैद्धिकता र सुरक्षासम्बन्धी विषयवस्तु’ शीर्षकका अन्तरक्रिया सत्रहरूमा सहभागिता जनाएका थिए ।

यी सत्रहरूमा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका नवीनतम उपलब्धिहरू, उत्पन्न चुनौतीहरूका साथै बैंकिङ क्षेत्रमा एआईको प्रयोगबाट उत्पन्न जोखिम र तिनको समाधानका लागि आवश्यक नीतिगत संयन्त्रहरूबारे गहिरो छलफल भएको थियो ।

गभर्नर डा. पौडेलले 'नियमन र प्रतिस्पर्धात्मकता' विषयक अर्को अन्तरक्रिया कार्यक्रममा पनि सहभागी जनाएका थिए । यसै सन्दर्भमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले बैठकमा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्रख्यात अर्थशास्त्री प्रा. मोरिस ओब्स्टफेल्डले ‘अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस् दोसाँधमा उभिएको यात्रा’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए ।

वार्षिक बैठकको अवसरमा गभर्नर डा. पौडेलले बीआईएस महाप्रबन्धक कार्सटेन्स, बैंकिङ विभाग प्रमुख लुइस बेङ्गोचासहित उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए । 

भेटघाटहरूमा विदेशी विनिमय सञ्चिति व्यवस्थापनलाई सुरक्षित, लाभदायक र प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने, सुन खरिद तथा विविध लगानीका नयाँ विकल्पहरूबारे छलफल गरिएको थियो ।

त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई केन्द्रीय बैंकबीच भुक्तानी प्रणाली सुधार, जनशक्ति विकास तथा समग्र द्विपक्षीय सहकार्य विस्तारका विषयमा सहमति जुटाइएको थियो ।

यस्तै, चीनको पीपल्स बैंक अफ चाइना (पीबीसी) का गभर्नर पान गोङ्गशेङ्गसँगको भेटमा पनि बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा निरन्तर सहकार्यको प्रतिबद्धता जनाइएको थियो ।

गभर्नर डा. पौडेलको साथमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालय निर्देशक एवं सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी पनि सहभागी थिए।

Share News