काठमाडौं । चीनले जापानका अधिकांश क्षेत्रहरूबाट सीफुड (समुद्री खाद्यपदार्थ) आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुशिमा परमाणु संयन्त्रबाट उपचार गरिएको दूषित पानी समुद्रमा फालिँदा हुन सक्ने असरको चिन्ताका कारण लगाइएको थियो ।
बेइजिङले अब जापानबाट आयात ‘शर्तसहित फेरि सुरु गर्ने बताएको छ, तर यो निर्णय जापानका ४७ मध्ये १० प्रान्तमा लागू नहुनेछ- जसमा टोकियो र फुकुशिमा पनि समावेश छन् ।
चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सले जुन २९ मा फुकुशिमाको दूषित पानीमाथि लामो समयसम्म गरिएको निगरानीमा संकलित नमूनाहरूमा कुनै गडबडी नभेटिएको जनाएको छ ।
सन् २०११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको सुनामीले फुकुशिमा परमाणु संयन्त्रका तीन रिएक्टरहरू डुबाइदिएको थियो । यो दुर्घटनालाई चेर्नोबेलपछिको विश्वकै सबैभन्दा ठूलो परमाणु दुर्घटना मानिन्छ ।
फुकुशिमा संयन्त्रका छमध्ये तीन परमाणु रिएक्टर सन् २०११ को सुनामीका क्रममा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । त्यसयता त्यहाँ एक मिलियन टनभन्दा बढी उपचार गरिएको दूषित पानी जम्मा भएको थियो ।