काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरूङ मार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल १ हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरूङ मार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ । ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ । हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा निर्माणाधीन सुरूङ मार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ ।
सिद्धार्थ सुरूङ मार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर सुरूङ मार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । सुरूङ मार्ग ५ वर्ष अर्थात् २०८३ मा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु भएको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खा याममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरूङ मार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् ।
पाल्पा-सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरूङ मार्ग र नागढुङ्गा सुरूङ मार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।