काठमाडौं । चीनमा अहिले विद्युतीय सवारीसाधन (ईभी) र प्लग-इन हाइब्रिड बेच्ने १२९ ब्रान्डमध्ये केवल १५ वटा मात्रै सन् २०३० सम्म आर्थिक रूपमा टिक्न सक्ने एलिक्सपार्टनर्स नामक परामर्शदाता संस्थाले बिहीबार जनाएको छ । तीव्र प्रतिस्पर्धाका कारण कम्पनीहरू मर्जर हुने वा बजारबाट बाहिरिनुपर्ने अवस्था आउने उसले बताएको छ।
एलिक्सपार्टनर्सका अनुसार ती १५ ब्रान्डले दशकको अन्त्यसम्म चीनको ईभी र प्लग-इन हाइब्रिड बजारको करिब ७५ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । ती प्रत्येक ब्रान्डको वार्षिक बिक्री औसतमा १०.२ लाख इकाई हुने अपेक्षा गरिएको छ । यद्यपि उसले ब्रान्डको नाम भने खुलाएको छैन ।
एलिक्सपार्टनर्सको एसियाली अटोमोबाइल विभागका प्रमुख स्टेफन डायरका अनुसार चीनमा गाभिनको प्रक्रिया अन्य बजारको तुलनामा ढिलो हुने सम्भावना छ किनभने स्थानीय सरकारले क्षेत्रीय अर्थतन्त्र, रोजगारी र आपूर्ति शृंखलामा असर पर्ने भएकाले नाफा नकमाउने ब्रान्डहरूलाई पनि समर्थन गर्न सक्छन् ।
‘चीन विश्वकै सबैभन्दा प्रतिस्पर्धी नव ऊर्जा सवारी ९एनईभी० बजारमध्ये एक हो, जहाँ मूल्य प्रतिस्पर्धा, तीव्र प्रविधि विकास र नयाँ कम्पनीहरूको आगमनले प्रतिस्पर्धाको स्तर उचालिरहेको छ,’ डायरले भने ।
‘यो वातावरणले प्रविधि र लागत दक्षतामा उल्लेखनीय प्रगति ल्याएको छ, तर धेरै कम्पनीहरूलाई दीर्घकालीन नाफा कमाउन मुस्किल बनाइरहेको छ,’ उनले थपे ।
चीनको अटो बजार जुन विश्वकै सबैभन्दा ठूलो हो हाल मूल्ययुद्ध र अत्यधिक उत्पादन क्षमताको समस्याले ग्रसित छ । यसले कम्पनीहरूको नाफामाथि दबाब सिर्जना गरिरहेको छ । बीवाईडी र ली अटोबाहेक अन्य कुनै पनि चिनियाँ सार्वजनिक सूचीमा सूचीकृत ईभी कम्पनीले अहिलेसम्म वार्षिक नाफा कमाउन सकेका छैनन् ।
चिनियाँ नियामक निकायहरूले मूल्य युद्ध अन्त्य गर्न अटोमेकरहरूलाई आह्वान गरिसकेका छन् । तर डायरका अनुसार मूल्य कटौती प्रत्यक्ष रूपमा नभई बीमा सब्सिडी, शून्य ब्याज ऋणजस्ता ‘लुकेका’ तरिकाबाट जारी रहनेछ ।
डायरका अनुसार गत वर्ष चीनमा कार कारखानाहरूको क्षमता उपयोग दर औसतमा ५० प्रतिशतमा झरेको थियो, जुन पछिल्ला १० वर्षमा सबैभन्दा न्यून हो र यसले कम्पनीहरूको नाफामा थप दबाब सिर्जना गरेको छ ।
लगातार दोस्रो वर्ष संकटमा टेस्ला : मस्कको धारणा र पुराना मोडेलले टेस्लाको बिक्री घट्दो
मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’