चम्पादेवी केबलकारलाई २२ हेक्टर वन, मुख्य लगानीकर्ता विशाल ग्रुप र संघाई ग्रुप

काठमाडौं । पछिल्लो समय देशभित्र यातायात पूर्वाधारमा उल्लेखनीय विकास भइरहेको देखिन्छ । नयाँ प्रविधिको विकासले यातायात क्षेत्रलाई सहज र सरल बनाइरहँदा केबलकार पनि त्यसको एउटा माध्यम बनेको छ । विगतमा लामो दूरी पैदल हिँड्नुपर्ने वाध्यताबाट यातायात क्षेत्रमा भएको विकासले सेकेन्डमै गन्तव्यमा पुग्ने अवस्था बनेको छ । 

केबलकार यातायात र पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट माध्यम बनिरहेको छ । तर, नेपालमा यातायात प्रयोजनका लागि भन्दा पनि पर्यटकीय प्रवर्द्धनमा केबलकार एक महत्त्वपूर्ण माध्यम बनेको छ । देशभर विभिन्न स्थानमा केबलकार सञ्चालनमा छन् भने केही स्थानमा निर्माण भइरहेका छन् । पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको केबलकार थपिने क्रम पनि जारी छ । 

केबलकारमा पर्यटकहरूको आकर्षण बढिरहेका बेला काठमाडौंमा नयाँ केबलकार बन्ने भएको छ । विभिन्न लगानीकर्ताको संयुक्त आयोजनामा चम्पादेवी इको-फ्रेण्डली कम्पनी प्रालिले चम्पादेवी केबलकार निर्माण गर्ने भएको हो । 

यो केबलकार मनोरञ्जन र धार्मिक पर्यटकहरूका विशेष रहने लगानीकर्ताहरू बताउँछन् । २.०७५ किलोमिटर लामो रहेको चम्पादेवी केबलकार कीर्तिपुर नगरपालिका-४ र दक्षिणकाली नगरपालिका-१ क्षेत्रमा सञ्चालन हुनेछ।

केबलकारको तल्लो स्टेसन दक्षिणकालीको बोसनमा र माथिल्लो स्टेसन कीर्तिपुरको चम्पादेवीमा रहनेछ । यसमा १० जना क्षमताका ३४ वटा गोन्डोला (डब्बा) हुनेछन् । साथै केबलकारले प्रतिघण्टा करिब एक हजार यात्रु ओसारपसार गर्ने क्षमता राख्ने लगानीकर्ता तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए । 

एउटा डब्बामा १० जना यात्रु अटाउने छन् । सामान बोक्ने छुट्टै दुईवटा र मर्मतका लागि एउटा क्याबिन राखिनेछ । केबलकारको अधिकतम गति ६ मिटर प्रतिसेकेन्ड रहनेछ भने एकतर्फी यात्रा समय करिब ७ मिनेट हुनेछ ।

उनका अनुसार माथिल्लो स्टेसनमा मन्दिर परिसर, मनोरञ्जन भवन र पार्क निर्माण गरिनेछ भने तल्लो स्टेसनमा पार्किङसहित तीन तले भवन हुनेछ । 

आयोजना सञ्चालनका लागि दैनिक ९५ हजार लिटर पानी जमिनमुनिबाट तानिने र २ मेगावाट विद्युत् खपत हुने कम्पनीले जनाएको छ । केबलकार निर्माण गर्दा ३ सय जनाले रोजगारी पाउनेछन् भने निर्माण पश्चात् सञ्चालन हुँदा ३१२ जनाले रोजगारी पाउने कम्पनीको दाबी छ । 

चम्पादेवी इको-फ्रेण्डली कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनअनुसार चम्पादेवी केबलकार निर्माणका लागि कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको २२ हेक्टरभन्दा बढी वन क्षेत्र ओगट्नेछ । 

प्रतिवेदन अनुसार आयोजनाका लागि कुल ७.७३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमा ५ हेक्टर सरकारी वन क्षेत्र र २.७३ हेक्टर निजी जमिन पर्नेछ । कम्पनीले ४० वर्षका लागि उक्त केबलकार सञ्चालन गर्नेछ । 

तल्लो स्टेसनमा तीनतल्ले मुख्य भवन, दुईपांग्रे सवारीका लागि ४०० र चार पांग्रे सवारीका लागि २०० गाडी अटाउने पार्किङ सुविधा रहनेछ। माथिल्लो स्टेसननजिकै १.८ हेक्टर क्षेत्रफलमा मनोरञ्जन पार्क र मन्दिर परिसरसमेत निर्माण गरिने छ ।

पर्यटन प्रवर्द्धनमा जोड दिन कीर्तिपुर र दक्षिणकाली क्षेत्रमा चम्पादेवी केबलकार निर्माण गर्न लागिएको अग्रवालले बताए । अध्यक्ष अग्रवालका अनुसार यो केबलकार ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण हुनेछ । चम्पादेवी केबलकारमा अग्रवालसहित विशाल ग्रुप र संघाई ग्रुपको मुख्य लगानी रहनेछ । 

‘चम्पादेवीमा विशाल ग्रुप, संघाई ग्रुप र मेरो पनि लगानी रहनेछ । यस केबलकारले काठमाडौं उपत्यकाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा छ । उपत्यकालाई थप आकर्षक बनाउने हाम्रो योजना हो,’ उनले भने । 

वन तथा वातावरण मन्त्रालयले कीर्तिपुर नगरपालिका-४ र दक्षिणकाली नगरपालिका-१ को सामुदायिक तथा कबुलियती वन क्षेत्रको २२ हेक्टरभन्दा बढी जमिन (वन क्षेत्र) चम्पादेवी केबलकार आयोजना निर्माणका लागि चम्पादेवी इको फ्रेण्ड्लीलाई दिने प्रक्रिया अघि बढाएको हो । 

कम्पनीले पेस गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले स्थानीयसँग सुझाव माग गरेको मन्त्रालयका सूचना अधिकारी बाबुराम घिमिरेले बताए । रायसुझाव दिन इच्छुकलाई ७ दिनको समय दिइएको उनले बताए ।

केबलकारमा क्रान्ति, कमालको कमाइ
 

Share News