गैर बैंकिङ सम्पत्ति बैंकका लागि ठूलो चुनौती बन्यो : अध्यक्ष पौडेल

काठमाडौं । बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले गैर बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि ठूलो चुनौती बनेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलले विभिन्न नीतिगत व्यवस्थासँगै दिनप्रतिदिन खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । कार्यक्रममा उनले साना ऋणीलाई ऋण कसरी लिने, व्यवसाय कसरी गर्ने भन्ने लगायत विषयको ज्ञान नहुँदा पनि समस्या भइरहेको धारणा राखे । उनले ऋणीको क्षमता विकासमा बैंकहरु चुकेको धारणा राखे ।

उनले ‘डिरेक्टिभ लेण्डिङ पोलिसी’ मा पुनरावलोकन गर्न छुट्टै अध्ययन जरुरी भइसकेको बताउँदै यस विषयमा नेपाल राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने बेला भएको बताए ।

‘बैंकिङ क्षेत्रमा सुशासन छ, राज्यका हरेक क्षेत्र बैंकिङ क्षेत्र सरह सुशासनमा चल्नुपर्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रले पनि अब आफ्नो टार्गेट पूरा गर्ने हिसाबले मात्रै काम गर्न जरुरी छैन ।’

हरेक क्षेत्रले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । बैंकिङ क्षेत्रको दिशा बिग्र्यो भने समग्र अर्थतन्त्रको दिशा बिग्रिने उनको धारणा छ ।

Share News