काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंको अटोमोबाइल हब मानिने थापाथलीमा आफ्नो नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच कम्पनीले आफ्नो इलेक्ट्रिक गाडी ‘प्रोटोन ईमास ७’ को नयाँ शोरुम उद्घाटन गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल, चर्चित गायिका तथा अभिनेत्री केकी अधिकारी र गायक तथा संगीतकार बृजेश श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर तथा पानसमा बत्ती बालेर शोरुमको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले थापाथली जस्तो प्रमुख व्यापारिक केन्द्रमा शोरुम स्थापना गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले प्रोटोन ईमास-७ मलेसिया र चीनमा आफ्नो सेगमेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक गाडी रहेको जानकारी दिँदै यसको सफलता विश्वव्यापी रहेको उल्लेख गरे । गुप्ताले भने, ‘हामीले सन् २०२५ भित्र नक्साल र थापाथलीसहित नेपालभर १५ वटा नयाँ शोरुम खोल्ने योजना बनाएका छौँ । केही महिनाभित्रै हाम्रो सञ्जाल देशभर फैलनेछ ।’
कम्पनीका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नेपालको अटोमोबाइल बजार अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो कठिन बजारमा ग्राहकलाई उत्कृष्ट सेवा दिन हामीले ‘कम्पनी आफैंले स्वामित्व लिई सञ्चालन गर्ने’ योजना बनाएका छौं ।’
उनले आगामी महिनाहरूमा भक्तपुर, पोखरा, नारायणघाट र नेपालगञ्जमा पनि थ्रीएस (३ एस) सुविधासहितका शोरुमहरू खोल्ने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा चर्चित अभिनेत्री केकी अधिकारीले प्रोटोन ईमास ७ गाडी खरिद गरेकी छन् । उनलाई कार्यकारी निर्देशक गुप्ता र वरिष्ठ उपाध्यक्ष बेटवालले गाडीको हस्तान्तरण गरे ।

गाडी बुझ्दै अभिनेत्री अधिकारीले गाडीको क्लासिक डिजाइन, आरामदायी भित्री भाग र शंकर ग्रुप जस्तो विश्वसनीय संस्थासँग जोडिएको ब्रान्ड भएकाले आफूले प्रोटोन रोजेको बताइन् ।
उनले भनिन्, ‘आज तुलसी एकादशीको शुभ दिनमा मैले यो गाडी पाएकी छु । यो गाडीको बनावट र विशेषताहरूले मलाई पहिलो नजरमै आकर्षित गर्यो । मलाई विश्वास छ, यसले मेरो यात्रालाई अझ सहज र सुखद बनाउनेछ । ’
कार्यक्रममा गायक तथा संगीतकार बृजेश श्रेष्ठले आफुले पहिलेदेखि नै प्रोटोन ईमास ७ को गाडी चलाइरहेको अनुभव सुनाए । उनले प्रोटोन ईमास ७ निकै सुरक्षा र यात्राका लागि भरपर्दो भएको दाबी गरे । उनले भने, ‘यो गाडीको फाइभ-स्टार सुरक्षा रेटिङ र लामो यात्राका लागि उपयुक्त हुनु मेरो पहिलो प्राथमिकता हो । मेरो परिवार पनि यो गाडीबाट अत्यन्तै खुसी छ । यसको पफर्मेन्स र आरामले म पूर्ण रूपमा सन्तुष्ट छु । ’
प्रोटोन सन् १९८३ मा मलेसियाको पहिलो राष्ट्रिय कारको रूपमा स्थापना भएको र सन् २०१७ मा चिनियाँ अटोमोबाइल ’जिली’ सँगको साझेदारीपछि प्रविधि र नवीनतामा ठूलो फड्को मारेको उनले बताइन् ।
ईमास ७ मा १६० किलोवाटको शक्तिशाली मोटर, द्रुत गतिको चार्जिङ क्षमता भएको ब्लेड ब्याट्री र सुरक्षाका लागि ’ सेल-टु-बडी’ जस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । यो मलेसियाको ब्राण्ड हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-७ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो दुई ब्याट्री अप्सनमा छ भने प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । दुबै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ ।
यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास–७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने कम्पनीले दाबीको छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ ।
यस्तै, इमास-७ को भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिने कम्पनीले बताएको छ ।

मलेसियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य पर्छ ।