जनताले बैंकबाट पैसा लिएर लगानी गर्नका लागि राज्यले अवसर खोजिदिनुपर्छ : गभर्नर

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् । आइतबार अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयकमाथिको छलफलमा बोल्दै उनले बैंकहरूमा थ्रुपिएको रकम परिचालन गर्नका लागि सरकारले अवसर खोजिदिनुपर्ने बताएका हुन् । 

उनकाअनुसार सबै काम मौद्रिक नीतिले गर्न सक्दैन । त्यसैले सरकार वित्त नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरु ल्याउनुपर्छ । वित्तीय नीतिमार्फत लिने कार्यक्रमहरुले मुलुकलाई समृद्धीतर्फ अघि बढाउनसक्ने बताए । ऋण दिएर मात्रै मान्छे व्यापारि भएर निस्कँदैन । त्यसका लागि विशेष सीप क्षमता चाहिन्छ । व्यवसायी गर्न नजान्नेलाई ऋण दिइयो भने जनताको निक्षेप डुब्ने खतरा रहने उनको भनाइ छ ।

उनकाअनुसार राज्यले लगानीका अवसर खोजिदिनुपर्छ । अहिले हाइड्रोमा लगानी गर्नेहरु खुशी छन् । त्यस्तै क्षेत्रहरू राज्यले खोजिदियो भने बैंकहरूले लगानी गर्नेछन् ।

उनले भने, ‘देश इलेक्टेड लिडरले चलाउने हो । इलेक्टेड लिडरले पोलिसि बनाएर देशलाई अघि बढाउनुपर्छ । सरकारले वित्त नीतिमार्फत कार्यक्रमहरु ल्यायो भने ती कार्यक्रमलाई समर्थन गर्नेगरी मौद्रिक नीति आउछ । पहिला सरकार अग्रसर हुनुपर्यो ।’

गभर्नर पौडेलकाअनुसार अहिले मुलुकमा वाह्य ऋण बढेको छ । राजस्व बढ्न सकेको छैन । अहिले बाफिया विधेयकमा भइरहेको छलफलले दीर्घकालिन रुपमा पार्ने प्रभावबारे सोच्न सांसदहरूलाई उनले आग्रह समेत गरे । गभर्नर पौडेलले बैंकहरूको वर्गिकरणका बारेमा समेत राष्ट्र बैंकले अहिले गृहकार्य गरिरहेको र यसको छिटै आउने जानकारी दिए ।  

Share News