काठमाडौं । मकवानपुरमा महिला निर्माण व्यवसायी मञ्जु लामामाथि भएको अभद्र व्यवहार र हिरासतमा राखिएको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा लामालाई तत्काल रिहा गर्न र घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
दोलखा काली भूमे कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरी काम गरिरहेकी लामामाथि हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले अभद्र व्यवहार गर्दै हिरासतमा थुनाएको घटनालाई महासंघले गैरजिम्मेवार कदम बताएको छ ।
महासंघले देशभरका निर्माण व्यवसायी, कामदार र उपकरणको सुरक्षामा पूर्ण प्रत्याभूति दिन सरकारको ध्यानाकर्षण गराएको छ । यस्ता घटना नरोके महासंघले निर्माण कार्य ठप्प पार्ने सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।