सुनकोसी मरिन आयोजनाको कामलाई गति दिन ठेकेदारसँग कार्यतालिका माग्छौं : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई गति दिन ठेकेदार कम्पनीसँग तत्काल कार्यतालिका मागिने बताएका छन् । आइतबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले आयोजनाको कामलाई द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । 

समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसके पनि अन्य काममा ढिलाइ भएको स्वीकार गरे । ‘गत असोजको बाढीले पु¥याएको क्षति, आर्थिक अभाव र बीमा रकम प्राप्त नहुनुजस्ता कारणले आयोजनामा ढिलाइ भएको हो’, उनले भने, ‘हामीले ठेकेदारसँग कार्यतालिका मागेका छौँ। नयाँ ठेक्का लगाउँदा थप समय लाग्ने भएकाले हालकै ठेकेदारबाट काम सम्पन्न गराउन पहल गरिरहेका छौँ । ’

यस्तै, मन्त्री खड्काले संसदमा विचाराधीन ’विद्युत् विधेयक, २०८०’ र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक’ लाई एकसाथ अघि बढाएर पारित गर्न समितिलाई आग्रह गरे । 

‘एउटा विधेयक रोकेर अर्कोलाई मात्र अघि बढाउनु आवश्यक छैन, दुवैलाई छिटो टुंगो लगाउनुपर्छ,’ उनले भने । उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीका लागि एक छानबिन समिति गठन गरी काम अघि बढाइएको जानकारी दिए । 

प्रयोग भएको बिजुलीको महसुल जुनसुकै हालतमा तिर्नुपर्नेमा उनले जोड दिए । ’टेक एन्ड पे’ मा स्पष्टताः बजेटमा आएको ‘टेक एन्ड पे’ को व्यवस्था परिमार्जन भइसकेकोले यस विषयमा भ्रममा नपर्न पनि मन्त्री खड्काले आग्रह गरे । 

Share News