काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथर एनर्जीले पारिवारिक उपयोगका लागि डिजाइन गरिएको नयाँ स्मार्ट स्कुटर ‘एथर रिज्टा’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ मा रिज्टाको पहिलो सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको हो ।
भारतीय बजारमा १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको सफल मोडललाई नेपाली सडकमाझ अनुकूल बनाएर ल्याउन लागिएको कम्पनीले जनाएको छ । रिज्टामा १५९ किलोमिटरको दाबी गरिएको रेन्ज, ३४ लिटरको स्टोरेज क्षमता, ४.३ किलोवाटको शक्तिशाली मोटर, लामो सिट, डिस्क ब्रेक, स्किड कन्ट्रोल र ७ इन्च टचस्क्रिनसहितका स्मार्ट कनेक्टिभिटी सुविधा रहेको छ ।
नेपाली परिवार र ग्रामीण क्षेत्रका यात्रालाई लक्षित गरी रिज्टालाई थप सुरक्षित र व्यावहारिक बनाइएको कम्पनीको दाबी छ । रिज्टाको बुकिङ चाँडै खुल्ने र यसै वर्षभित्र नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको छ ।
एथर एनर्जीका नेपालस्थित पार्टनर वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुवांश वैद्यले भने, 'भारतमा अत्यधिक सफल यो मोडललाई नेपाल ल्याउन पाउँदा उत्साहित छौं । रिज्टाले नेपाली विद्युतीय सवारी भविष्यमा नयाँ सम्भावना थप्नेछ ।'
हालसम्म काठमाडौं, पोखरा, बुटवल, इटहरीलगायत ८ वटा एक्स्पेरिएन्स सेन्टर र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना गरिसकेको एथरले रिज्टासँगै आफ्नो बजार विस्तारलाई थप तीव्र बनाउने योजना सार्वजनिक गरेको छ ।