काठमाडौं । अब बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न पाउने भएका छन् । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाको नवौं संशोधन गर्दै अविमोच्य असंचिति अग्राधिकार सेयरका निष्कासनका लागि बाटो खुला गरेको हो ।
बोर्डले निर्देशिका संशोधन गर्दै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निश्कासन गर्न पाउनेछन् ।
यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियामकबाट रोक लगाइएको अवस्थामाबाहेक यस्तो सेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न नपाउने व्यवस्था गरिएको छ ।
सेबोनले निष्कासन भएको सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचिकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्था अनुसार हुने व्यवस्था गरेको छ । कारोबार संस्थागत लगानीकर्ताले मात्र खरिद बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कारोबार हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले खरिद बिक्री गर्न नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई ठूलो राहत मिल्नेछ ।