अर्थतन्त्रमा केही न केही समस्या छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको हालको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले हाल लगानीयोग्य रकम प्रशस्त उपलब्ध भएकाले अहिलेको समय बेस्ट अफ टाइम भएको उल्लेख गरे । 

तर उनले अर्थतन्त्रमा केही चुनौती र समस्या पनि विद्यमान रहेको स्पष्ट पारे । उनका अनुसार विशेषगरी कृषि क्षेत्र र साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) को अनुपात बढ्दै गएको छ । यसले भविष्यमा वित्तीय स्थायित्वमा असर पार्न सक्ने सम्भावना भएकाले समयमै सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

'कृषि र एसएमई क्षेत्रमा देखिएका समस्याको समाधानका लागि तत्काल कदम चाल्न जरुरी छ,' गभर्नर पौडेलले भने । उनले आगामी मौद्रिक नीति तय गर्दा राजस्व नीति (फिस्कल पोलिसी) र मौद्रिक नीति (मोनिटरी पोलिसी) बीच प्रभावकारी समन्वय हुनुपर्नेमा समेत जोड दिए ।

उनका अनुसार हाल बैंकिङ क्षेत्रका धेरै सूचक सकारात्मक रहेको र लगानीका लागि पर्याप्त तरलता (लिक्विडिटी) उपलब्ध रहेकाले अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले आवश्यक सुधारात्मक कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता छ ।

Share News