धनगढी । पछिल्ला वर्षमा सडक पूर्वाधारको स्तरोन्नतिसँगै धनगढी सहरको स्वरूप उल्लेख्य रूपमा परिवर्तन हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको धनगढीका मुख्य र सहायक सडकहरू क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत स्तरोन्नति हुँदैछन्।
करीब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित उक्त आयोजनाले सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्च, मालपोत सडक, कैलाली पुलदेखि ट्राफिक चौराहा, डिभोटी होटलदेखि दाहाल टोलसम्मका सडक स्तरोन्नति गरिसकेको छ।
सडक दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार जडान गरिएको छ। साथै, रु १ अर्ब २५ करोडको लागतमा धनगढी उपमहानगरपालिका-७ पटेला क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना अगाडि बढाइएको छ।
अन्य नगरहरूमा पनि विकासको लहर
धनगढीबाहेक कैलालीको अत्तरिया, कञ्चनपुरको झलारीपिपलाडी र भीमदत्त (महेन्द्रनगर) नगरपालिकामा पनि सडक स्तरोन्नति, सार्वजनिक भवन निर्माण, ढल निकास, तथा फोहर व्यवस्थापन जस्ता काम भइरहेको छ । सङ्घीय सहरी विकास तथा भवन कार्यालय, धनगढीमार्फत पञ्चवर्षीय योजना अन्तर्गत यी कार्यहरू सञ्चालनमा छन् ।
प्रदेश सरकारको बजेटबाट कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेका बेला धनगढी उपमहानगरपालिकाको पहलमा स्मार्ट स्ट्रिट लाइट, हाइमास्ट लाइट, फ्लड लाइट, र स्ट्रिप लाइट जडान गरिएका छन् । यसले ‘उज्यालो धनगढी’ अभियानलाई सार्थक बनाएको छ ।
हरियाली र सौन्दर्यकरणको अभियान
सडकका दायाँबायाँ फूलका बोटबिरुवासहितको हरियाली र रंगीबिरंगी बत्तीहरूले धनगढी झिलिमिली सहरको रूपमा चिनिन थालेको छ। साँझपख बत्तीहरू बालिएपछि टिकटक बनाउने र तस्बिर खिच्ने युवाहरूको समूह देखिन थालेका छन् ।
‘उज्यालो धनगढी’ अभियानअन्तर्गत उपमहानगरका सबै वडामा बत्ती विस्तार गर्ने तयारी भइरहेको उपमहानगरका इञ्जिनियर अशोक अवस्थीले जानकारी दिए ।
मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नति भइसकेको छ । गेटा खण्डको मोहनापुलदेखि मनोहरा पुलसम्म छ लेन, र मनोहरा पुलदेखि अत्तरिया चोकसम्म आठ लेनको सडक निर्माण भइसकेको छ । यस आयोजनाको कुल लागत रु १ अर्ब ७८ करोड रहेको छ ।
सडकको बीच भागमा मिडियन बनाइ फूलबिरुवा रोपिएको छ भने दायाँबायाँ दुई मिटर चौडा फुटपाथ निर्माण गरिएको छ । यद्यपि मनोहरा खोला र मोहना नदीमाथि बन्ने पुलको निर्माण बजेट अभावका कारण रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
धनगढी सहरको विकास तीव्र गतिमा भइरहे पनि विनायोजना बस्ती विस्तार, जल निकासको कमजोर संरचना र नदी कटानका समस्याले अझै नगरवासीलाई असर पारिरहेको छ । सामान्य वर्षामा समेत पानी जम्ने समस्या समाधान गर्नुपर्ने चुनौती कायमै छ ।
फोहर व्यवस्थापन अहिले निजी क्षेत्रमार्फत भइरहेको छ । तर, उपमहानगरका कतिपय वडामा अझै सडक, खानेपानी जस्ता आधारभूत सुविधा अभाव रहेको छ । कतिपय विकास गतिविधि शक्ति र पहुँचवालाका वडामा मात्रै सीमित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि बेलादेवीपुर, फूलबारी, उर्मा र गेटाका केही वडालाई समेटेर उपमहानगरपालिकामा रूपान्तरण गरिएको हो । स्थानीयवासी यज्ञराज भट्टका अनुसार झिलिमिली बत्ती र स्तरोन्नत सडकले धनगढीको रूप नै फेरिएको छ।
उपमहानगरपालिकाले ‘हरियाली धनगढी अभियान’ अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण पनि गरिरहेको छ, जसले धनगढीलाई सुन्दर र हराभरा सहरको रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।