काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ-रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ ।
नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ ।
संघले अटोमोबाइल क्षेत्रले जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ ।
'यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'संकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।'