उपल्लो मुस्ताङमा ४ पुल बगायो २ पुलमा क्षति, नागरिकलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमानथाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

बाढीले लोमानथाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ ।

यसैगरी बाढीले त्यस क्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठे पुल बाढीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ ।

उपल्लो मुस्ताङको बाढीका कारण जोखिममा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी ४ सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले  त्यस क्षेत्रमा मानवीय तथा पशु चौपायामा भने क्षति भएको छैन ।

बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली खटिएको उहाँले उल्लेख गरे । 

त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरि नसकेकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।

Share News