कलंकी-बसुन्धरा चक्रपथ विस्तार : फिल्ड सर्भे सम्पन्न, अब डिजाइनको काम सुरु हुने

काठमाडौं । चक्रपथ विस्तार परियोजना अन्तर्गत दोस्रो खण्ड (कलंकी-बसुन्धरा) को फिल्ड सर्भे सम्पन्न भएको छ । काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार, चिनियाँ प्राविधिक टोलीले करिब दुई महिना लगाएर ८.२ किलोमिटर लामो यस सडक खण्डको सर्भे पूरा गरेको हो । 

योजनाका प्रमुख कृष्णनाथ ओझाले ’सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्ट्स’ र ’सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ’का १८ जना प्राविधिक सर्भेमा संलग्न रहेको जानकारी दिए । 

‘सर्भे सकिएसँगै अब चिनियाँ टोलीले डिजाइनको काम सुरु गर्नेछ,’ प्रमुख ओझाले भने, ‘यो खण्ड चीन सरकारको अनुदानमा बन्ने भएकाले विस्तृत डिजाइन चीनबाटै तयार हुनेछ । डिजाइन तयार भएपछि स्वीकृतिका लागि नेपाल सरकारलाई पेस गरिनेछ । हाम्रो भूमिका समन्वय र सहजीकरणमा सीमित रहन्छ ।’

उनका अनुसार, आगामी तीन महिनाभित्र अर्थात् असोजसम्ममा डिजाइनको प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ। सडक विभागबाट डिजाइन स्वीकृत भएपछि मात्र निर्माण प्रक्रिया अघि बढ्नेछ ।

यो परियोजना पूर्णतः अनुदानमा आधारित भएकाले सर्भे, डिजाइन, निर्माण कम्पनी छनोट र निर्माण लगायतका सम्पूर्ण काम चिनियाँ पक्षले नै गर्नेछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै आयोजनाको कुल लागत टुंगो लाग्ने ओझाले बताए ।

माछापोखरीमा फ्लाइओभरको प्रस्ताव

यसैबीच, यस खण्डको माछापोखरी चोकमा फ्लाइओभर निर्माणका लागि पनि प्रस्ताव गरिएको छ ।  योजना प्रमुख ओझाका अनुसार, अत्यधिक ट्राफिक जामलाई मध्यनजर गर्दै चिनियाँ पक्षले फ्लाइओभर निर्माणको सम्भाव्यतासहित सर्भे गरेको हो । यद्यपि, फ्लाइओभरको अन्तिम स्वरूप (मोडेल) भने सडक विस्तारको डिजाइन स्वीकृत भएपछि मात्र यकिन हुनेछ ।

Share News