चन्दा सङ्कलन गरेर प्रहरी चौकी

काठमाडौं । स्थानीयले चन्दा सङ्कलन गरेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीय वासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वैच्छिक रूपमा सङ्कलन भएको १२ लाख ४४ हजार ४६६ रुपैयाँबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतीक्षालय तथा गोल घर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो ।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रकममध्ये १० लाख ७ हजार ४९७ रुपैयाँको सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट २ लाख ११ हजार १११ रुपैयाँ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद २५ हजार ८५८ रुपैयाँ रहेको छ ।

प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिएको १४ वटा सिसी क्यामेरा जडान, एक/एक वटा प्रतीक्षालय तथा गोलघर निर्माण, पाँचवटा सडक सूचना बोर्ड र कार्यालय व्यवस्थापनको काम गरिएको छ । आफ्नै जग्गामा आरसिसी पक्की कार्यालय भवन निर्माण गरेर सञ्चालन गरिएको प्रहरी चौकीको कार्यालय व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सोफा सेट, चन्दा सङ्कलनबाट कार्पेट र पर्दा खरिद तथा स्थानीयको श्रमदानबाट कार्यालय भवन मर्मत गरिएको छ । 

स्तरोन्नति तथा व्यवस्थापनका लागि सङ्कलन गरिएको रकम र व्यवस्थापन समितिको गतिविधिका बारेमा प्रहरी चौकी बुइपाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरी चौकीको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बुइपाका वडाध्यक्ष दिनेश राई, विजय खर्कका वडाध्यक्ष रामबहादुर कटवाल, स्थानीय स्तरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो । 

समुदाय र प्रहरीबीचको साझेदारीले सिङ्गो समाज सुरक्षित राख्नका साथै सानातिना काममा राज्यको मुख ताक्नुभन्दा आफैँ अग्रसर भएर लाग्दा छोटो समयमा नै समाज परिवर्तन गर्न धेरै सकिने सहभागी वक्ताहरूले बताएका छन् । सार्वजनिक सुनुवाइले पारदर्शिता तथा समुदाय र प्रहरीबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए ।

सिसी क्यामेरा र भौतिक पूर्वाधार विकासका संरचना गत २०८२ वैशाख २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थ राज भट्टराईले औपचारिक रूपमा उद्घाटन गरेका थिए । गोरखा-रुजन जेभी काठमाडौंले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुई तले पक्की भवन निर्माण गरेको हो ।

प्रहरी चौकी बुइपाको कार्यालय भवनमा महिला तथा पुरुषका लागि छुट्टा छुट्टै हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टा छुट्टै कोठा र शौचालयको व्यवस्था गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको २ करोड २ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको प्रहरी चौकी बुइपाको भवन २०७८ साल कात्तिक १७ गते उद्घाटन गरिएको हो ।

Share News