काठमाडौं । आज (शुक्रबार) नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको उच्च स्रोतका अनुसार आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्नका लागि गभर्नर डा.विश्वनाथ पौडेलले सञ्चालक समितिको बैठक बोलाएका छन् । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बस्दैछ ।
सञ्चालक समितिले मौद्रिक नीतिको मस्यौदा पारित गरेपछि गभर्नर पौडेलले पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्नेछन् ।
स्रोतका अनुसार गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति भएकोले बजारलाई रिझाउने उदार खालको नीति अवलम्बन गरेका छन् ।
उनले मौद्रिक नीतिमार्फत गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि एसेट म्यानेज्मेन्ट कम्पनीका साथै नियो बैंक स्थापनाको लागि प्रस्ताव अघि सार्नेछन् । अर्थमन्त्री विष्णु पौडेलले पनि बजेटमा उक्त घोषणा गरेका थिए । त्यसको कार्यान्वयनका लागि गभर्नर पौडेलले पनि मौद्रिक नीतिमा सो घोषणा गर्नेछन् ।