सिटिजन्स बैंककी संचालक ईला शर्माको निधन

काठमाडौं । सिटिजन्स बैंककी संचालक ईला शर्माको हृदयघातका कारण निधन भएको छ । शनिबार साँझ अचानक हृदयघात भएपछि शर्मालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । तर चिकित्सकहरूले मृत घोषणा गरे । 

शर्माको करिब ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको चिकित्सकहरूले जनाएका छन् । उनको पार्थिव शरीर हाल नर्भिक अस्पतालमै राखिएको छ । 

पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ९ देखि १० बजेसम्म उनको पार्थिव शरीर कुपण्डोलस्थित निवासमा राखिने छ । दिल्लीमा रहेकी उनकी छोरीको आगमनपछि दिउँसो अन्त्येष्टि गरिने बताइएको छ ।

शर्माले २०६९ सालदेखि २०७५ सालसम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंकको सञ्चालक थिइन् ।

Share News