काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ । महानगरपालिकाले आव २०८२/८३ को लागि आर्थिक ऐनमार्फत महानगरभित्रका सबै वडामा रहेका जग्गाहरूको नयाँ मूल्यांकन सार्वजनिक गरेको हो ।
महानगरले आगामी साउन १ गते देखि नै लागू हुने गरेर महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरूको नयाँ मूल्यांकन सार्वजनिक गरेको हो ।
महानगरले सार्वजनिक गरेको नयाँ मूल्यांकनमा काठमाडौं महानगरभित्र प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म जग्गाको नयाँ मूल्यांकन तोकिएको छ ।
नयाँ मूल्यअनुसार महानगरभित्र गोरेटो बाटो भएको आसपासका क्षेत्रमा जग्गाको मूल्य ७ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । बाटो नभएको ठाउँमा भने जग्गाको मूल्य प्रतिआना ४ लाख रुपैयाँसम्म तोकिएको छ ।
कुन ठाउँको जग्गाको मूल्य कति ?
माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।
हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आर.बी. कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौ महानगर भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ ।
केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदैै तीनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।
त्यस्तै प्रतिआना ५० लाख रुपैयाँ निर्धारण भएका काठमाडौंंभिका ठाउँहरुमारत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदैै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदैै भद्रकालीसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गा रहेको छ । त्यसैगरी जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य पनि ५० लाख रुपैयाँ नै रहेको छ ।
काठमाडौंको मनोहरा पुल-अरनिको राजमार्ग-चक्रपथ (रिङरोड)-कोटेश्वर चोकसम्म र तीनकूने–गैह्रीगाउँ–सिनामङ्गल-तिलगङ्गा- गौशाला- मित्रपार्क-चावहिल चोक हुँदै धोविखोला पुलसम्मको सिमानासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।
बालकुमारी-कोटेश्वर-तिनकुने-मिनभवन-नयाँ बानेश्वर-बिजुलीबजार थापाथली-त्रिपुरेश्वर-टेकु स्थित विष्णुमती पुलसम्मका मुल सडकसँग जोडिएका दायाँंबायाँका जग्गाहरूको मूल्य प्रतिआना ३२ लाख रुपैयाँ तोकिएको छ ।
नयाँ बानेश्वरदेखि कान्तिपुर डेन्टलसम्मका दायाँबायाँका जग्गाहरु ३२ लाख रुपैयाँ र पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३२ लाख रुपैयाँ, माइतिघर मण्डलादेखि पुरातत्व विभाग र पूर्व सिंहदरबार दक्षिणगेट हुदै हनुमान स्थानसम्मको मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ३२ लाख रुपैयाँ नै निर्धारण गरेको छ ।
पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक र त्यहाँबाट सिनामंगल बागमती पुल, के.एम.सी.हस्पीटल चक्रपथसम्मका मूल बाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।
पूतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोेकेको छ । पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ४० लाख रुपैयाँ नै निर्धारण गरिएको छ ।
चक्रपथ जोडिएका गौशालादेखि धोविखोला आसपासमा रहेका जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै गौशाला चोकदेखि रातोपुलसम्म मुल सडकसँग जोडिएका जग्गाहरुको मूल्यांकन प्रतिआना २५ लाख रुपैयाँ निर्धारण गरेको छ ।