काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चिकित्सा क्षेत्रमा उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशभित्रै खपत हुने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवमा अवसरमा उनले चिकित्सा शिक्षामा सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि शिक्षा मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।
मन्त्री पन्तले भने, ‘यहाँ उत्पादित चिकित्सक युरोपका गल्ली र अस्पतालमा भन्दा नेपालकै अस्पतालमा भेटिनुपर्ने वातावरण सृजना गर्न सबैले सहयोग गर्नुपर्ने जरुरी छ ।’
छात्रवृत्तिका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘साढे पाँच अर्ब रुपैयाँ जति छात्रवृत्तिमा खर्च हुन्छ । करिब ७५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढ्छन् । सतप्रतिशत नभए पनि कम्तीमा ७५ प्रतिशतले स्वदेशमा सेवा गर्नुपर्छ । देशले लगानी गरेपछि त्यसको प्रतिफल पनि यहीँ फर्किनुपर्छ ।’
मन्त्री पन्तले नेपाली चिकित्सक र नर्सको योग्यता माथि प्रश्न उठाउन जरुरी नरहेको स्पष्ट पारे ।
‘हाम्रो उत्पादन कमजोर छन् भन्ने मलाई लाग्दैन । यदि उहाँहरू अयोग्य छन् भने विदेशमा काम कसरी पाइरहेका छन् ? यसबारे गम्भीर छलफल गरिनुपर्छ,’ उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताललाई चिकित्सा जनशक्ति उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको बताए ।
‘यो अस्पताल केबल बिरामीको उपचारका लागि मात्र नभई, उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अभ्यास केन्द्र हो,’ उनले भने ।
स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा उनको जोड छ । बिरामी निको नभए चिकित्सक र नर्सलाई दोष दिने चलन रहेकाे उनकाे भनाइ छ ।
‘समाजले स्वास्थ्यकर्मीमाथि अविश्वास राख्नु हुँदैन । कम जनशक्तिमा बढी सेवा गर्नुपर्ने हुन्छ, त्यसैले उहाँहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिने, विशिष्ट क्षमता भएको जनशक्तिका रूपमा पहिचान दिने काम गर्नुपर्छ,’ उनले भने ।
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको जानकारी दिँदै मन्त्री पन्तले थपे, ‘स्वास्थ्यकर्मीलाई सुरक्षित, दबाब रहित वातावरणमा काम गर्नसक्ने र सम्मानका साथ बाँच्नसक्ने व्यवस्था आवश्यक छ । तलब पनि समान र प्रोत्साहन योग्य हुनुपर्छ ।’
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालले त्रिवि शिक्षण अस्पताल गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको बताए ।
अनुसन्धानको क्षेत्रलाई बलियो बनाउनुपर्ने भन्दै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने र विदेशबाट विद्यार्थी भर्ना बढाउने किसिमका कदम चाल्नुपर्ने उनको धारणा छ । प्रत्येक क्षेत्रमा अनुसन्धान हुनुपर्छ, अनुसन्धान केन्द्र खोल्न आवश्यक रहेको उनले बताए ।